सेती नदी जलविद्युत आयोजना सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २७, शनिबार (७ घण्टा अघि)
  • ४५ पटक पढिएको
सेती नदी जलविद्युत आयोजना सम्पन्न

वैशाख २७, कास्की । माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ ।

२०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढी संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए ।

२०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न शुरु गरेको छ । आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सब स्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

करिब छ अर्ब लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट शुरुको वर्षमा वार्षिक ८७ करोड रुपैयाँ आम्दानी गर्नेछ । आयोजनामा एनएमबी बैङ्कको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकको ऋण लगानी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस