वैशाख २७, एजेन्सी । पाकिस्तानले भारतविरुद्ध जवाफी अपरेशन सुरु गरेको छ । भारतले अपरेशन सिन्दूर नाम दिएर विभिन्न ठाउँमा मिसाइल आक्रमण गरेको तेस्रो दिन पाकिस्तानले ‘अपरेशन बुनयान मर्सूस’ नाममा जवाफी आक्रमण सुरु गरेको हो ।
पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले ‘बुनयान मर्सूस’ को नामको जवाफी कारबाही शुरु गरेको जनाएको हो । बुनयान मर्सूसको अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यो अपरेसनको नाम कुरानबाट लिइएको हो, यसले राष्ट्रको सुरक्षा गर्न सेनाको एकता, शक्ति र अनुशासनमाथि जोड दिन्छ । इस्लाममा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ ।
अपरशेन बनुयान मर्सूस घोषणा गरेलगत्तै पाकिस्तानी सेनाले भारतका तीन सैन्य हवाई अड्डामा मिसाइल प्रहार गरेको छ । यसअघि पनि पाकिस्तानले भारतीय सीमा क्षेत्रमा गोलाबारी भने गरिरहेको थियो ।
सञ्चारमाध्यमका अनुसार यो अपरेसनअन्तर्गत पाकिस्तानले भारतको उधमपुर शहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको छ । भारतको एएनआई समाचार एजेन्सीले डिब्बर क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरिरहेको छ ।
यस्तै पाकिस्तानले भारतका ८० भन्दा बढी ड्रोन नष्ट गरिदिएकोसमेत दाबी गरेको छ । पाकिस्तानले भारतको विद्युत प्रणालीमा साइबर आक्रमण गरिएको दाबी गरेको छ ।
अपरेशन बुनयान मर्सूस अन्तगर्त नै पावर ग्रिडमा आक्रमण गरेको पाकिस्तानी सरकारी सञ्चारमाध्यम पीटीभीले उल्लेख गरेको छ । भारतको पीटीआई न्यूजले पनि पावर ग्रिडमा साइबर आक्रमण भएको संकेत गरेको छ ।