चैत्र २७,काठमाडौँ । नौबिसे–नागढुंगा सुरुङ मार्ग निर्माणको काम लम्बिँदै गएको छ । निर्माण गर्ने कम्पनीको टुंगो लगाउन नसकिएकै कारण निर्माण सुरु गर्ने मिती टाढिएको हो ।
सन् २०१९ को जनवरीभित्र निर्माण कम्पनी छनोट गरेर काम थालनी गर्ने भनिएको थियो । तर २०१९ को चार महिना बित्दा पनि कुन निर्माण कम्पनीलाई ठेक्का दिने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।
‘अहिले छनौटको प्रक्रिया अघि बढिरहेको छ, १०/१५ दिनमा नै टुङ्गो लाग्नेछ’ सडक विभागका निर्देशक केशव शर्माले भने, ‘प्राविधिक मूल्यांकनपछि पनि कम्पनीको पूँजीगत मूल्यांकन गर्नुपर्ने हुन्छ । यसले गर्दा केही ढिलो हुन गएको हो, अब १५्र दिनभित्र निर्माण कम्पनी छनोट गरिसक्नेछौँ ।’
नागढुंगा नौबिसे सुरुङमार्ग निर्माण गर्न सरकारले साउन २४ गते ग्लोबल टेण्डर आह्वान गरेको थियो ।
ग्लोबल टेण्डर आह्वानपछि विश्वभरीबाट जम्मा ४३ वटा आवेदन प्राप्त भएका थिए । तिनीहरुमध्ये जम्मा ६ कम्पनीले मात्र बिड (बोलपत्र) हालेका छन् । बिड हाल्नेमा पाँचवटा चिनियाँ र एउटा जापानिज कम्पनी रहेका छन् ।
सडक विभाग अन्तर्गत वैदेशिक समन्वय महाशाखाका इञ्जिनियर छविलाल पौडेलकाअनुसार अब यी ६ वटा कम्पनीको तहगत मूल्यांकनपछि मात्र कुनै एक कम्पनीलाई छनौट गरिनेछ ।तर त्यो अवसर चिनियाँ कम्पनीले पाउँछ या जापानिज कम्पनीले पाउँछ भन्ने केही भन्न नसकिने उनले बताए ।
‘जापानिज सहयोगमा निर्माण हुने भनिए पछि जापानी कम्पनीले नै निर्माण गर्छ भन्ने हुँदैन । यसमा कुनै कुराको पनि पक्षपात हुनु हुँदैन’ उनले भने ।