छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, पाँच जना घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २९, सोमबार (३ घण्टा अघि)
  • ५५ पटक पढिएको
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, पाँच जना घाइते

वैशाख २९, काठमाडौं । सवारी साधनको छुट्टाछुट्टै दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो लु।प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा परी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली रहेका छन् । सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो ।

यस्तै म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल सोमबार बिहान बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए ।

यता काठमाडौँको सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । सोमबार बिहान भएको दुर्घटनामा तनहुँको आँबुखैरेनी नगरपालिका ५ का ६४ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी प्रहरी उपरिक्षक अपिलराज बोहराले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका २२ काठमाडौँ मल अगाडी सडकमा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक गुरुङ ललितपुर इमाडोल बस्दै आएका थिए ।

दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस