लकडाउन असर : घाटामा पनि व्यवसायिक साझेदारी गर्ने कि ?

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ अषाढ २६, शुक्रबार (४ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

घनश्याम रिजाल                          

जिन्दगीमा न कसैले कल्पना गरेको थियो न चाहेको थियो, यस्तो पनि दिन आउँछ भनेर । तर जिन्दगी हो के–केसंग पौठेजोरी खेल्नुपर्छ भनेर थाहै हुदैन । हाम्रा पूर्खाहरुले पनि अनेकौं ब्यहोरेको हामीले सुनेकै हौ । हाम्रा सन्ततिले के–के ब्यहोर्लान के–के चुनौती आउला ? अहिले कल्पना नगरौ । जिवितहरुको संसारमा सबैभन्दा अब्बल मान्छे । आज मान्छेले धेरै बिकास गरेको छ । चेतनशिल प्राणी हो मान्छे । सबै कुराको तारतम्मे मिलाउन सक्छ मान्छेले । हो हामिले कहाली लाग्दो धेरै घटनाहरुको सामना गरेकै हौ । आज पनि हामी माथी बिश्व महामारीको रुपमा उदाएको एउटा अदृश्य शक्तिले देश, जिल्ला, नगर हुदै हाम्रै नजिक आयो । हामिलाइ निकै सतर्क गरायो, ठुलो चुनौती थपिदियो । समस्या आएपछि नै समाधानको बाटो खोज्ने हो । जे पर्छ सामना हामिले नै गर्ने हो, अरुबाट आशा राख्नुभन्दा सिक्नु चाहिँ पक्कै राम्रो हुन्छ । कोरोना जित्नकै लागि विभिन्न उपायको सामना गरेकै हो, गरिरहेका छौं । डराएर भागेर केही हुँदैन सामना गर्ने हो, नयाँ परिस्थितिलाई चिर्दै अगाडि बढ्दैछ मान्छे र परिस्थिति लाई सामान्य पनि मान्दैछ मान्छे ।

नोक्सानीको साझेदारी तिनै पक्ष रहनुपर्ने माग

मनबाटै सामान्य हुँदै गर्दा सर्बसाधारणका लागि आर्थिक समस्या उत्पन्न भएको छ । साना व्यावसायिको समस्या सुनेपछि मन कटक्क कुडिएर आउँछ । आज हामीमाथी केही चुनौती थपिएको छ । जसको स्थायी जागीर छैन, जसको मनग्य भाडा आउने घर छैन, कमाइ हुने हरेक बाटोहरु बन्द छन । छोरा–छोरीको पालनपोषण, शिक्षादिक्षा, बुढा बाबू–आमाको हेरचाह औषधि उपचार नियमित सेवन गर्नुपर्ने औषधिको जोरजाम, घरमा चाहिने खाद्यान्नको जोरजाम, टेलीफोन खर्च, बैंकको ऋण, सावाँ–ब्याज मोटर साइकलको किस्ता,घरको भाडा, अझ साना ब्यबसायी भएमा सटर भाडा, पसलमा भएको सामानहरु ड्यामेज ! घाटा, उफ कति हो कत ? घाटा भनेर साध्यै छैन । यो अवधिभर दुइपैसा कमाइ छैन । सरकारले एक महिनाको भाडा छुट् दिन अनुरोध गरेको छ । निर्णय गरेको होइन मनकारी घरबेटिहरुले ३ महिना कै भाडा छुट् गरेका छन् । सबै घरबेटीको स्तर एउटै हुने कुरा पनि भएन । खान लाउनै मुस्किल घरबेटीहरु पनि छन् । उनिहरुलाइ पनि राहतको ब्यबस्था हुनुपर्छ । तर एक डेढ महिनाको भाडा नलिदैमा जहाजै डुब्नेहरु बाहेकले छुट् दिन हिचकिचाउन हुन्नकी भन्ने लाग्छ । सक्नेहरु र मनकारी मानवता भएकाहरुले लाखौं रुपैया राहत बाँढेका छन ।

उनिहरुको स्पष्ट उत्तर छ-‘धर्म गर्न मन्दिर जानै पर्दैन’ यदि मानबिय धर्म निभाउने हो भने । कतिले पुण्य कमाउने राम्रो अवसरको रुपमा लिएका छन् यसलाई । सरल स्वभावका मान्छेका लागि कुनै बहाना नै चाहिदैन उनीहरु आफै कुरा बुझ्छन् । तर थोरै मान्छेहरु यहि समाजमा छन, जसले यस्ता सामाजिक भावलाई नकारात्मक रूपमा मात्र चित्रण गर्छ । उसले नभएको आफ्नो समस्या मात्र अगाडि ल्याउछ अरु कसैको सुन्दैन । कम्तीमा पनि स्थानीय रुपमा वडाको रोहबरमा कुनै हेल्प–डेस्कको स्थापना अथवा एउटा छुट्टै समिती बनाएर आफ्नो वडाभित्र आएका समस्याहरुलाइ बैज्ञानिक ढंगबाट हल गर्ने उपाय निकाल्नै पर्ला । कुनै पनि ब्यबसायको दर्ता, भाडा कर, घरको ऋण, भाडा रकम सम्झौता आदिको अध्ययन पनि संगै गर्न सकिने र समस्या हल गर्न राम्रो भुमिका खेल्न सक्ने देखिन्छ । यसका लागि घरधनी, ब्यबसायी, नागरिक अगुवा, वडा जनप्रतिनिधि सबैको लागि उदाहरणीय बन्ने एउटा राम्रो मौकाको रुपमा लिन सकिएला । दीर्घकालीन समाधान र योजना कार्यान्वयनका लागि सबैको अभिभावक सरकारकै पहलमा यो सम्भव होला, लकडाउनको समयमा भएको नोक्सानी क–कस्ले ब्यहोर्ने ? व्यावसायी एक्लैले ? घरधनी र व्यावसायिले ? अथवा घरधनी, व्यावसायी र सरकारले ? लकडाउनको समयमा भएको नोक्सानीको साझेदारी तिनै पक्ष रहनुपर्ने माग व्यावसायीहरुले उठाएका छन् । कुनैपनी बिन्दुमा पुगेर यसको निराकरण हुनैपर्छ नत्र यसैबाट वैमनस्यता उत्पन्न हुनसक्ने देखिन्छ । जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि हुन्छ । कुरा यतिमात्रै हो कि समाधानको ताल्चा कसले खोल्न सक्छ ?

ठमेलबाट सिक्ने की

हुन त ठमेलका व्यावसायीहरु र केही घरधनीहरुले लगभग टुंगो लगाएका छन, एक बर्ष भाडामा ५० छुट लिनेदिने । यसमा सरकारको ठुलो भुमिका देखिदैन तर जे होस यो अरुका लागि एउटा उदाहरण बन्नसक्छ । घरधनी र व्यावसायी बिचको घाटामा साझेदारीको यो एउटा उदाहरण हो । यतिबेला समस्यामा नरहेका निकै कम होलान समस्यानै समस्याले अर्को नयाँ समस्याहरु देखा पर्दै आइरहेका छन । यो २,४ दिनको समस्या पक्कै होइन दीर्घकालीन रुपमै यसको असर पर्ने देखिन्छ । त्यसैले हामीमाथी अर्को चुनौती थपिएको छ । दीर्घकालीन समाधान कसरी गर्ने ? निकै संयमतापुर्बक निर्णय लिन सक्ने खुबी आबस्यक छ । यसका लागि पहलको सुरुवात कहाँबाट गर्ने ? कस्ले गर्ने ? निचोड सम्म कसरी पुग्ने ? पहिलो चरणमा कोभिडसंग लडेका हामी अहिले आर्थिक अभाव संगपनि लड्न पर्नेछ । कहिले सम्म लडिरहने ? हाम्रो समाजमा घरबेटी र भाडावालबीच तीन किसिमको व्यबहार देखिएको छ ।

१. कुनै हालतमा भाडा छुट नदिने
२. एक महिनाको दिने
३. तीन महीनाको दिने

ब्यापारीहरु यो तिनमहिना त शतप्रतिशत नै नोक्सान ब्यहोर्नुपर्यो । अझै देशको स्थिति कोल्टे फेरिन कति समय लाग्ने हो कति समय नोक्सानीमै डराइ–डराइ ब्यापारमा अल्झिन पर्ने हो भन्ने चिन्ता देखिन्छ । यो संगै गर्नुपर्ने खर्च कुनै घट्नेवाला छैन । ऋणको बोझ थपिदै जाने चिन्ता उनिहरुमा देखिन्छ । त्यस्ता घरबेटी जसले ऋण लिएर मुस्किलले किस्ता तिरिरहेका छन, उनिहरुलाइ ठुलो समस्या छ । जसको आफू खुम्चिएर घरमा बसेर २, ३ कोठाको भाडाले जिबिकोपार्जन गरेका छन, उनिहरुलाई समस्या हुन सक्छ । यस्तो अवस्थामा ठ्याक्कै अवस्था बुझेर निर्णय दिनसक्ने को होला ? जहाँ बिबादरहित समाधान हुन्छ त्यहाँ कुनै समस्या भएन तर जहाँ बिबाद सृजना हुन्छ त्यहाँ समाधानको बाटो तयार गर्नुपर्छ, र यो बिषम परिस्थितिमा यस्तो किसिमको समस्या धेरै देखिन सक्छ । यो अवस्थामा सम्बन्धित सबै किसिमको प्रतिनिधित्व हुनेगरी स्थानीय निकायको नेतृत्वमा यसको पहल हुनु जरुरी देखिएको छ ।

-लेखक पत्रकार हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस