असार १३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन ।
हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णोद्वार सम्पन्न गद्दी बैठक भवनको उद्धघाटनका क्रममा आज उनले उक्त क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताए ।
प्रधानमन्त्री ओलीले विश्वसम्पदा सूचीको सो भवनको जीर्णोद्वारका लागि सहयोग गरेकामा संयुक्त राज्य अमेरिकाको राजदूतावासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट पारे ।
विसं २०७२ को गोरखा भूकम्पले लाखौँ मानिस घरबारविहीन भएको र सयौँ सांस्कृतिक धरोहर सम्पदा क्षतविक्षत भएको स्मरण गर्दै उनले भने, “भूकम्पले मानवीय र भौतिक क्षति पु¥याएको अवस्थामा अमेरिकालगायत मित्र राष्ट्रहरुले गरेको सहयोग उल्लेखनीय छ, हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौँ ।”
प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “राजनीतिक संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ ।” भूकम्प फेरि पनि आउन सक्ने भएकाले अबको पुनःनिर्माण थप गुणस्तरीय हुनुपर्ने उनको भनाइ थियो ।
अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो ।