संसदमा रावलले भने– ‘पुरस्कार घोषणा गर्ने सांसदले यही गीत गाए एक महिनाको तलब दिन्छु ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

फागुन ६,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गायक पशुपति शर्माले गाएको लोकदोहोरी गीतलाई लिएर प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदबीच दोहोरी चलेको छ ।

बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मा ‘जनगायक’ रहेको भन्दै सरकारले उनले गाएको गीत प्रतिबन्ध लगाउनुले लोकतन्त्र कहाँ छ भनेर प्रश्न उब्जिएको बताए ।

सिंहले नागरिकको भावना समेटेर शर्माले गीत गाएको भन्दै त्यसको सम्मानस्वरुप आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।

शून्य समयमा बोल्ने समय पाएका सत्तारुढ दलका सांसद झपट रावलले सिंहलाई जवाफ दिँदै गायक शर्माले गाएको गीत सिंहलाई गाउन चुनौती दिँदै त्यसरी गाए आफ्नो एक महिनाको तलब नै दिने घोषणा गरे । रावलले भने, ‘पुरस्कार घोषणा गर्ने सांसदले यही गीत गाए एक महिनाको तलब दिन्छु ।’

रावलले शर्माको गीत प्रायोजित रुपमा आएको रहस्य प्रतिपक्षी सांसदले पुरस्कारको घोषणा गर्नुले सत्य बाहिरिएको दाबी गरे ।

शर्माले यसअघि सुशील कोइराला प्रधानमन्त्री भएको समयमा ‘जापान पनि यही, अमेरिका पनि यही’ भनेर गाएको र अहिले आएर सरकारलाई राक्षस, यमराज र कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेर गीत गाउनुले उनी प्रतिपक्षीबाट परिचालित भएको देखिएको दाबी रावलले गरे ।

सिंहको भनाइप्रति व्यङ्ग्य गर्दै रावलले भन्नुभयो, ‘गीत गाउन सरकारले कुनै पनि प्रतिबन्ध लगाएको छैन, भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतीले रक्षा गरून, धन्यवाद ।’

ताजा अपडेट

खोजी गर्नुहोस