फागुन २६, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।
सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरिय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका खबर आजको कान्तिपुर दैनिकमा सुर्खेतबाट कलेन्द्र सेजुवालले लेखेका छन्।
गृहमन्त्री थापाले संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने बताएका छन्। ‘राजनीतिक गर्ने हो भने जनअभिमतबाट आउनु पर्यो,’ गृहमन्त्रीको भनाई उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भने, ‘कानुन विपरित जाने जोकोहीलाई कडा कारबाही गर्नुहोस्, असहिष्णु बन्नुहोस्।’
कर्णाली प्रदेश तुलनात्मक रुपमा चन्द नेतृत्वको नेकपाको प्रभाव वढी भएको क्षेत्र हो। यहाँ स्थानीय तहका जनप्रतिनिधिले चन्दा असुलीको कारण काम गर्नै समस्या भइरहेको बताएका छन्।
गृहमन्त्री थापाले भने गोष्ठीमा चन्द नेतृत्वको नेकपा खासै ठूलो चुनौती नभएको बताए।