बैशाख २८,काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गर्ने निर्वाचन मिति सार्वजनिक गरेको छ। संघका अनुसार निर्वाचन सन् २०२५ जुलाई २६ तारिख, शुक्रबारका दिन सम्पन्न हुनेछ। सो अवसरमा एनआरएनए अस्ट्रेलियाको केन्द्रीय तथा राज्य कार्यसमिति दुवैको निर्वाचन सम्पन्न गरिनेछ, जसले आगामी दुई वर्षसम्म संस्थाको नेतृत्व गर्नेछ।
संघले निर्वाचनमा भाग लिन चाहने नेपालीहरूलाई समयमै सदस्यता लिन वा नविकरण गर्न अनुरोध गरेको छ। यसका लागि २०२५ जून ६ तारिखलाई अन्तिम मिति तोकिएको छ। सो मितिपछि नयाँ सदस्यता लिने वा नविकरण गर्ने व्यक्तिहरू निर्वाचन प्रक्रियामा सहभागी हुन अयोग्य ठहरिने संघले स्पष्ट पारेको छ।
सदस्यता लिनका लागि न्यूनतम योग्यता पनि संघले स्पष्ट पारेको छ। टेम्पररी रेसिडेन्सी (TR), टेम्पररी ब्रिजिङ भिसा (TR Bridging Visa), पर्मानेन्ट रेसिडेन्सी (PR) वा अष्ट्रेलियन नागरिकता प्राप्त नेपालीहरूले मात्र सदस्य बन्न पाउनेछन्। यद्यपि, विद्यार्थी भिसामा रहेका नेपालीहरू भने यसपटक सदस्य बन्न अयोग्य हुने संघले जानकारी दिएको छ।
निर्वाचन प्रक्रियालाई पारदर्शी, समावेशी र व्यवस्थित बनाउन संघले आवश्यक तयारीहरू तीव्र गतिमा अघि बढाएको जनाएको छ। निर्वाचन मिति र सदस्यता प्रक्रिया सार्वजनिक गर्नु त्यसै तयारीको महत्वपूर्ण चरणको रूपमा हेरिएको छ।
एनआरएनए अस्ट्रेलिया केवल एक सामाजिक संस्था मात्र नभई, प्रवासमा रहेका नेपालीहरूको पहिचान, हकअधिकार र हित संरक्षण गर्ने सशक्त माध्यमको रूपमा स्थापित छ। त्यसैले संस्थाको नेतृत्व चयन प्रक्रिया जिम्मेवार, लोकतान्त्रिक र सहभागीपूर्ण हुनुपर्ने संघको धारणा छ।
संघले अस्ट्रेलियामा बसोबास गरिरहेका सम्पूर्ण योग्य नेपालीहरूलाई समयमै सदस्यता प्रक्रिया पूरा गरी निर्वाचनमा सहभागी भई एनआरएनएलाई अझ सशक्त र प्रभावकारी बनाउन योगदान पुर्याउन आह्वान गरेको छ।