साउन ६, काठमाडौँ । बीपीमा राजनीतिक र साहित्यिक व्यक्तित्व अन्योन्याश्रित रूपमा थियो। उहाँ आफैं भन्नुहुन्थ्यो- साहित्यमा म अराजकतावादी हुँ, जहाँ सम्राट् पनि नांगो हुन्छ, राजनीतिमा प्रजातान्त्रिक समाजवादी।
उहाँका यी दुवै व्यक्तित्वमाथि धेरै विचार–विमर्श भएको छ।
उहाँको निधन भएको पनि साउन ६ गते ३७ वर्ष पूरा हुँदैछ। यही सन्दर्भ पारेर अहिलेसम्म उहाँको सम्बन्धमा अनुद्घाटित सन्दर्भहरू यहाँ चर्चा गर्नेछु।
जनमतसंग्रहको घोषणापछि बीपीको काठमाडौंपछि पहिलो कार्यक्रम पोखरामा राखियो। बीपी पोखरा जानुभन्दा दुई दिनपहिले दमननाथ ढुंगाना, डा। रामशरण महत, राधेश्याम अधिकारी, देवेन्द्रलाल नेपाली र पंक्तिकार पोखरा गयौं।
पोखराको वातावरण उल्लासमय थियो। ०३५ सालमा बीपीलाई आउन नदिएको बदला लिन कांग्रेसका कार्यकर्ता मात्र होइन, सर्वसाधारण जनता सतर्क थिए। ०१७ सालपछिको यो सबभन्दा ठूलो राजनीतिक वातावरण थियो। पोखरामा भव्य स्वागत भयो। कुनै किसिमको प्रतिरोध भएन। पोखराको कार्यक्रम सकेर बीपी दमौली जानुभयो।
पोखराको भन्दा दमौलीको वातावरण भावुक थियो। गुरुङ र मगर समुदायका महिला गरगहनामा सज्जिएर ठूलो संख्यामा उपस्थित थिए।
आमसभालाई सम्बोधन गर्ने क्रममा सर्वसाधारण जनतासहित महिलाको असंख्य उपस्थिति देखेपछि बीपीले भन्नुभयो, ‘मैले गल्ती गरेको थिएँ भने मलाई फाँसी दिएको भए हुन्थ्यो। यी गरिब जनताले के गल्ती गरेका थिए,’ मुलुकलाई आज विश्वको गरिब राष्ट्रमा पुर्याइयो यो भावुक भाषण गर्दागर्दै मञ्चमै बीपी रुनुभयो।
बोली बन्द भयो। केही दिनपछि रुमाल निकालेर आँसु पुछ्नुभयो। उपस्थित महिला पनि रुन थाले। बीपी रोएको देखेपछि उपस्थित जनता पनि भावुक बने।
पाकिस्तानी कूटनीतिज्ञसँग बिहे गरेकी बीपीकी बहिनी बनु, बुहारी रोषा कोइराला, गोरखापत्रका पूर्वसम्पादक गोपालप्रसाद भट्टराई पनि बीपीसँग जानुभएको थियो। उपस्थित सबैका आँखाबाट आँसु झरे। सबै भावुक भए आफूलाई सम्हाल्दै बीपीले जनतासँग अनुरोध गर्नुभयो बहुदलको पक्षमा मतदान गर्न।
अघिल्लोपटक विमान बस्न नदिएको र व्यापक रूपमा धरपकड गरेको बदला लिन सम्पूर्ण कार्यकर्ता, बुद्धिजीवी र सर्वसाधारण जनता बीपीको स्वागतमा लागे। कास्कीको वातावरण बहुदलको पक्षमा देखियो।
जुन शक्तिले पहिले पोखरा र विराटनगरमा हवाईजहाज बस्न दिएको थिएन, त्यो शक्तिका लागि बीपीको भव्य स्वागत असह्य भयो। दमौलीबाट स्याङजा जाँदा अप्ठ्यारो भीरको माझमा लुकेर बसेका पूर्वकम्युनिस्ट मण्डलेले बीपीलाई लक्ष्य गरेर गोली चलाए। गोली बीपीलाई नलागेर लमजुङ जिल्लाका पार्टी सभापति तारानाथ कोइरालालाई लाग्यो। सौभाग्यवश गोली हान्नेमाथि कारबाही भएन। उहाँ बच्नुभयो। यी घटनाबाट बीपी झन् विश्वस्त हुनुभयो।
विदेशी शक्ति पञ्चायतभित्र घुसेर राजा र जनताबीच सम्बन्ध सुध्रन नदिने राष्ट्रवादी शक्तिबीच विभाजन ल्याएर आफ्नो कुटिल अभीष्ट पूरा गर्न चाहन्छ भन्नेमा बीपीको झन् बढ्यो। त्यसपछि नै उहाँले राजासँग आफ्नो गर्धन जोडिएको उद्घोष गरी बाह्य शक्तिलाई चुनौती दिनुभयो- राजाको गर्धन छिनाउनुभन्दाअघि मेरो गर्धन दिनाउनुपर्छ किनकि राजाको गर्धनमाथि मेरो गर्धन छ।