बागमती प्रदेशमा सवारी चालक अनुमति पत्रका लागि आवेदन कोटा बढाइयो

Post Thumbnail

साउन २७,हेटौडा । सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि आवेदन दिनेको चाप बढेपछि बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले कोटा थप गरेको छ।

आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै आजदेखि आवेदन दिन सकिने सङ्ख्या बढाइएको हो।

मन्त्रालयले गएको असार २८ गते तोकिएको कोटामा १ हजार २ सय १५ जना थप गरी ३ हजार ६ सय ७५ पुर्याएको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले अनलाइन केन्द्रलाई बताए । उनका अनुसार बिचौलियाले चलखेल गर्न नपाउन् भनेर दिउँसो साढे ४ बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ । यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार २ सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी आवेदन दिनसक्ने व्यवस्था मिलाइएको रुपाखेतीको भनाइ छ ।

ललितपुरको एकान्तकुना, काठमाण्डौको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौँडा कार्यालयमा दिउँसो साढे चार बजेदेखि लागू हुने गरी आवेदन सङ्ख्या बढाइएको हो । सेवाग्राहीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ । बागमती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको रुपाखेतीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस