साँस्कृतिक विविधताले नेपालीको एकता थप मजबुत : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधताले एकताले नेपालीको एकतालाई थप मजबुत बनाएको बताएका छन्।

मगर समुदायले मनाउने माघे संक्रान्ती र थारु समुदालयले मनाउने माघी पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको उल्लेख गरे।

‘एकातिर यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ-आफ्नै संस्कृति र चाडपर्व रहेका छन् भने अर्कातिर, यो साँस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्।

प्रधानमन्त्री ओलीले मगर समुदायले नयाँ वर्षको रूपमा मनाउने यस पर्वलाई अन्य जाति र समुदायका नागरिकहरूले पनि विशेष महत्त्वका साथ मनाउने गरेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले थारु समुदायले आजकै दिन मनाउने माघी पर्वलाई स्वतन्त्रता दिवसको रूपमा उपयोग गर्नुपर्ने बताए।

थारु जातिहरूलाई कमैया राख्ने कुप्रथा अन्त्य भइसकेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिले थारुहरू कसैको बन्धनमा नरही स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्न सक्ने अवस्थामा पुगेको बताए।

वर्षभरि सामन्तकोमा कमैया बस्न बाध्य थारु समुदायका दिदीबहिनी दाजुभाइहरूले माघीको दिन मात्र बिदा पाउथे’, प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्,‘त्यसैले यस दिनलाई स्वतन्त्रता दिवसको रूपमा पनि स्मरण गर्न सकिन्छ।’

कुनै बेला कमलरी/कमैया बस्न बाध्य थारु समुदायका दिदीबहिनीहरूले लोकतन्त्रको स्थापनापछि संविधानसभामा समेत सहभागिता जनाएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

‘आजको नेपालमा कमैया प्रथा कायम छैन। बरु हिजो कमैया बस्न बाध्य पारिएका थारु समुदायका कृषि मजदूरहरू लगायत सबै जात र समुदायको सहभागितामा जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौं’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस