चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी, डा. केसीका माग पूरा भएको दाबी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ७, सोमबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । संसदको कार्यसूचिमा सोमबारका लागि चिकित्सा शिक्षा विधेयक पारितका लागि पेश गर्ने उल्लेख छ ।

विधेयकमा आफ्ना माग नसमेटिएको भन्दै डा. गोविन्द केसी १६ औँ पटकको अनशनमा रहेकै बेला सरकारले भने डा. केसीका सबै माग पूरा गरेको दाबी गर्दै विधेयक पारित गर्ने तयारी गरेको हो । सोमबार दिउँसो १२ बजेपछि बस्ने बैठकमा विधेयक निर्णयका लागि प्रस्तुत हुने तयारी छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले डा. केसीका माग समेत समेटेर विधेयकलाई अन्तिम रुप दिइ संसदको पूर्ण बैठकमा पेश गरेको र अब त्यो पारितको तयारी रहेको सरकारले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले आइतबार अनशनरत प्राध्यापक डा. गोविन्द केसीको सबै माग पूरा भइसकेको दाबी गरेका थिए । रिपोर्टर्स क्लबमा आइतबार आयोजित साक्षात्कारमा उनले भनेका थिए, “काठमाडौँमा मेडिकल कलेज खोल्न नदिने डा. केसीको माग सम्बोधन भइसकेको छ । अब नयाँ मेडिकल कलेज काठमाडौँमा खोलिने छैन । यसबाट मनमोहन अधिकारी मेडिकल कलेज पनि प्रभावित भएको छ ।”

सरकार र मन्त्रीहरुले उनका माग पूरा भएको बताए पनि डा. केसी भने आफ्ना माग पूर्णरुपमा सम्बोधन नभएको भन्दै १६ औँ अनशनमा छन् । इलामाबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति काठमाडौँ ल्याइएको थियो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचारसहित अनशनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस