कात्तिक ६,काठमाडौँ । माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशबाट भारतीय सेना तुरुन्तै हटाउने बताएका छन्। बीबीसीसँगको एक अन्तवार्ताका क्रममा राष्ट्रपति मुइज्जुले माल्दिभ्सको भूमिमा आफूहरूलाई कुनै पनि सेनाको उपस्थिति सह्य नहुने भन्दै तुरुन्तै भारतीय सेना हट्नुपर्ने बताएका छन् ।
गएको महिना माल्दिभ्सको राष्ट्रपतीय चुनावका बेला उनले भारतीय सेना हटाउने वाचा गरेका थिए, उनले आफूले चाँडै चुनावको वाचा पूरा गर्ने दाबी गर्दै भारतीय राजदूतलाई भेटेर पनि यो विषयमा जानकारी गराएको उल्लेख गरे ।
विशेषगरी वर्तमान राष्ट्रपति इब्राहिम सोलिह सन् २०१८ मा सत्तामा आएपछि भारतसँग निकटता बढाएको भन्दै आलोचना भएको थियो, त्यसैको जवाफ नागरिकले चुनावमा दिएका खबरमा उल्लेख छ । इब्राहिमले ुइन्डिया फर्स्टु नीति लागू गरेर भारतसँग नजिक हुने काम गर्नुभएको थियो तर नवनिर्वाचित राष्ट्रपति मुइज्जुको गठबन्धनले चीनसँग घनिष्ठ सम्बन्ध बनाएको छ । चीनले माल्दिभ्समा पूर्वाधार र विकास परियोजनाका लागि ऋण र अनुदानको रूपमा करोडौँ डलर लगानी गरेको छ । हिन्द महासागरको ठूलो भागको निगरानीका लागि माल्दिभ्स रणनीतिक रूपमा महत्त्वपूर्ण रहेकाले भारतले त्यहाँ प्रभुत्व जमाउन खोजेको छ र माल्दिभ्सको विकासका लागि दुई अर्ब डलर लगानी गरेको छ ।