साउन ७,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अन्तर्गत अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै त्रिविले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो । यो व्यवस्था कार्यान्वयनमा आएपछि विद्यार्थीले राहत महसुस गर्ने विश्वविद्यालयको अनुमान छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालका अनुसार प्राज्ञिक परिषद्ले यस विषयमा निर्णय गरिसकेको छ । सम्बन्धित निकायमा पत्राचार गरेर कार्यान्वयनका लागि निर्देशन दिइने उनले जानकारी दिए । मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने छ । बरालका अनुसार अन्तिम वर्षको परीक्षाको नतिजा सार्वजनिक भएको दुई साताभित्रमा मौका परीक्षा सञ्चालन गरिने छ ।
उक्त परीक्षाको नतिजा भने स्नातकोत्तर तहको नयाँ भर्नामा सहभागी हुन पाउने गरी सार्वजनिक हुने छ । अहिले चारबर्से स्नातकको अन्तिम वर्षको परीक्षामा कुनै एक विषयमा मात्रै अनुत्तीर्ण भए पनि अर्को परीक्षा वर्ष दिनपछि मात्रै दिन पाउने व्यवस्थाका कारण विद्यार्थी माथिल्लो तहमा अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छ । साथै कुनै एक वर्षको परीक्षाको नतिजाको पर्खाइमा बस्नुपर्दा त्यस्ता विद्यार्थीले रोजगारीका लागि वा वैदेशिक अध्ययनका लागि आवेदन दिनसमेत नपाउने अवस्था छ ।