फागुन १५,वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै साथीको हत्या गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
तास खेल्ने क्रममा पैसाको विषयमा विवाद भएपछि आफ्नै साथीको हत्या गर्ने तीन जनालाई पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो । वीरगंज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मी बस्ने १९ वर्षीय इशाल प्रसाद कुर्मीको हत्या गर्ने उनकै साथीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका – २७ उदयपुर घुर्मीकै १९ वर्षीय मुकेश प्रसाद यादव, सोही ठाउँका १९ वर्षीय अरुण कुमार यादव र १९ वर्षकै मुना तिवारी रहेका छन् ।
इशालको शव यही फागुन ११ गते साँझ साढे ५ बजेतिर वीरगंज महानगरपालिका – २८ जगरनाथपुर ढाठ भन्दा करिब ५ सय मीटर पश्चिम भेडैया खोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो । अनुसन्धानको क्रममा आफ्नै साथीले हत्या गरेर शव फालेको खुलेको पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डिएसपी० सुवास भट्टले पुस्टी गरे । उनकाअनुसार घटना फागुन ७ गते साँझ करिब ६ बजेर १० मिनेटमा भएको हो ।
इशाल घरबाट वीरगंजमा काम गर्छु भनेर निस्किएको उनका बुबा जोगिन्द्र प्रसाद कुर्मीले अनुसन्धानका क्रममा बताएका छन् । अबेरसम्म पनि छोरा नफर्किएपछि उनले जोगिन्द्रले छोरालाई खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएका थिए । डिएसपी भट्टकाअनुसार, फागुन ७ गते करिब साढे ११ बजे इशाल प्रसाद कुर्मी छिमेकी साथीहरूसँग तास खेल्न गएका थिए । तास खेल्ने क्रममा पैसाको विषयमा विवाद भएपछि मुकेश, अरुण र मुनाले मिलेर इशालको हत्या गरी भेडैया खोलामा फालेको अनुसन्धानको क्रममा खुलेको छ । अनुसन्धानको क्रममा प्रहरीले घटनास्थलबाट मृतकको पर्स, साइकल, चप्पल, मृतकले प्रयोग गर्ने भिभो लेखिएको कभरभित्र रेडमी कम्पनीको मोबाइल फोनको टेम्पर ग्लास बरामद गरिएको छ ।
उनीहरू तीनै जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याथ थप लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।