वैशाख २६, काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिने भएको छ । विहान ११ बजे बस्ने बैठमा बोल्न बाँकी सांसदहरुले आज नीति तथा कार्यक्रममाथि केन्द्रित भएर आफ्नो धारणा राख्ने संसद सचिवालयले जनाएको छ ।
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल सुरु भएको हो । हालसम्म प्रतिनिधिसभामा करिब १ सय ५० जना सांसदले आफ्ना धारणा राखिसकेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
छलफलका लागि छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले आज सक्ने तयारी गरिएको उनले बताए । नीति तथा कार्यक्रममाथि सरदर १५ देखि २० घण्टा छलफल गर्ने परम्परा रहेकोले यस वर्ष पनि सोही बमोजिम छलफलको समय तय गरिएको प्रवक्ता गिरीको भनाइ छ ।
राष्ट्रियसभामा भने सोमबार र मंगलबार दुई दिन छलफल भएको थियो । राष्ट्रियसभामा बोल्न बाँकी केही सांसदले पर्सि आइतबार धारणा राख्नेछन् । दुवै सदनमा भएका छलफलमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि आइतबार जवाफ दिने कार्यसूची छ ।
त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुनेछ । नीति तथा कार्यक्रम पारित भइसकेपछि संसदमा प्रि बजेट छलफल अघि बढ्नेछ । सरकारले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।