वैशाख २६, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो आग्रह गरेका हुन् । प्राधिकरणका निवर्तमान र वर्तमान प्रवन्ध निर्देशकहरुले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको उनको भनाई छ ।
यस्तै ऊर्जामन्त्री दीपक खड्काले भने नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्रमार्फत अहिलेको यथार्थ बाहिर ल्याइएको दाबी गरेका छन् । संसद भवन परिसरमा पत्रकारसंग कुरा गर्दै उनले प्राधिकरण घाटाबारे श्वेतपत्र राम्ररी अध्ययन गरिदिन आग्रह गरे ।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा रहेको दाबी गरेका थिए । प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोष समेत गरेका थिए । तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दैै प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेका हुन् ।