सरकारसँगको वार्ता सकारात्मक, शिक्षकका ९ बुँदे प्रस्ताव

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १७, बुधबार (१ हप्ता अघि)
  • ४८ पटक पढिएको
सरकारसँगको वार्ता सकारात्मक, शिक्षकका ९ बुँदे प्रस्ताव

वैशाख, १७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको वार्तापछि पन्तले जानकारी दिए ।

शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म भएको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए भने महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली सहभागी भएको थियो ।

सरकार र महासंघका प्रतिनिधिहरु वार्तामा पटकपटक बसेपनि निष्कर्ष निस्कन सकेको छैन । नेपाल शिक्षक महासंघका महासचिव तुलबहादुर थापाले वार्ता सहमति नजिक पुगेको जानकारी दिए । थापाले महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको बताए । उक्त प्रस्ताव मन्त्रिपरिषद्‌बाट पास भएमा महासंघले आन्दोलनको स्वरुप फेर्ने बताए ।

थापाका अनुसार अहिले महासंघ आन्तरिक छलफलमा जुटेको छ । रत्नराज्य मावि बानेश्वरमा छलफल चरिरहेको र आन्दोलनको मोडालिटीबारे निर्णय हुने थापाले जानकारी दिए । आजको निर्धारित आन्दोलनको कार्यक्रम भने यथावत् रहेको महासंघले जनाएको छ ।

गत चैत २० देखि महासंघ नेतृत्वमा शिक्षकहरूले नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनलाई जारी राखेका छन् । शिक्षक आन्दोलनका कारण एसईईको उत्तर पुस्तिका परीक्षण, भर्ना अभियान तथा कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस