ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन थालियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ १८, बुधबार (१ दिन अघि)
  • ७३ पटक पढिएको
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन थालियो

असार १८,  म्याग्दी । मालिका गाउँपालिकास्थित ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । गाउँपालिकाको वडा नं ३ र ४ को सिमानामा रहेको तामाखानी उत्खनन् गर्न एम/एस दोङयी मिनरल्स प्रालिले काम सुरु गरेको हो ।

पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारिनेछ । मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्हरुको टोलीले खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन गर्नेछ ।

स्थानीयले पनि खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

स्थलगत अध्ययनका लागि पुगेका भूगर्वविद् रोनित पौडेलले खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने बताए ।

मालिका गाउँपालिका–३ का ७२ वर्षीय विसराम पटेलका अनुसार ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको पटेलले बताए ।

तामाखानीमा दुईवटा मुहान छन् । ती मुहानहरुको लम्बाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ । यहाँ अझै पनि तामाका घाउ देख्न सकिन्छ । दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस