असार १९, काठमाडौं । मलेसियामा जारी १६ वर्षमुनिको एसीसी मेन्स इस्ट जोन कप एक दिवशीय क्रिकेटको पहिलो सेमिफाइनलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् । खेल क्वालालम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा बिहान ७ः४५ बजे शुरू हुनेछ ।
नेपाल समूह ‘ए’ का सबै खेलमा अपराजित रहँदै सेमिफइनलमा पुगेको हो । नेपालले समूह चरणमा सिङ्गापुरलाई ६ विकेट, जापानलाई ९ विकेट, इन्डोनेसियालाई ३ सय ७० रन र भुटानलाई २ सय ९८ रनले हराएको थियो ।
यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।
यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको अर्को सेमिफाइनलमा सोही समय हङकङ र सिङ्गापुर खेल्दैछन् ।
इस्ट जोन कपको फाइनल खेल शनिवार हुनेछ ।