जेठ १५,मुस्ताङ । हिमालपारिको जिल्ला भनिने मुस्ताङको अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेरमा सोमबार देखि नेपाल टेलिकमले जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याइएको छ ।
यहाँको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको समेत उपस्थितिमा सोमबार देखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याइएको हो।
यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४२७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।
यहाँका वासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् । त्यसैगरी भ्रमणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत लाभान्वित हुनेछन् ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।