भाद्र ११, कालिकोट। जिल्लाको तिलागुफा नगरपालिका–७ छाप्रेमा सोमवार राती गएको पहिरोका कारण १८ घर बिस्थापित भएका छन् ।
अविरल बर्षासँगै सोमवार राति ७ वजेतिर गाँउमाथिबाट खसेको स पहिरो गाँउमा पसेपछि स्थानियबासीको भागाभाग भएको छ ।
तिलागुफा नगरपालिकाको वडा नम्वर ६, ७ र ८ का तीन वटा बस्ती पहिरोको जोखिममा परेका छन् । तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले पहिरोका कारण छाप्रे, ढाँडगाँउका १८ घरका एक सय ५० जना विस्तापित भएको जानकारी दिए । प्रहरीले २२ वटा घर जोखिममा रहेको जनाएको छ ।
पहिरोले ९३ लाख रुपैयाँभन्दा वढीको क्षति भएको प्रहरीको अनुमान छ । नगरप्रमुखका शाहीका अनुसार पहिरो अहिले पनि बगिरहेको छ । पहिरोले डाँढ गाँउका दुई घर पुरेको छ । पहिरोले कर्णाली राजमार्ग अन्तरगतको सुर्खेत जुम्ला सडकखण्ड पनि अबरुद्ध भएको छ ।
कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र छन् । जुम्ला, मुगुबाट सुर्खेततर्फ र सुर्खेतबाट जुम्ला मुगुतर्फ जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउन ४ दिन लाग्ने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले बताए। पहिरो खसेको क्षेत्रमा उद्धारका लागि जिल्लाका तीन वटै सुरक्षा निकाय खटिएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिएसपी दिलप्रसाद भट्टको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाली सेना पहिरो स्थलमा खटिएको छ ।