-अनलाइनकेन्द्र राजनितिक ब्युरो
२१,काठमाडौँ । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो । तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।
कांग्रेसमा यी अनुहार जाँदैछन् मन्त्रीपरिषद्मा:–
नेपाली कांग्रेसमा पौडेल समूहभित्र मन्त्रीका लागि सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम प्रस्तावित छ । यता कृष्णप्रसाद सिटौलाले भने उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जनाको नाम पठाउने तयारी गरेका छन् ।
माओवादीबाट सम्भावित सुची:–
अब माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किराती मध्ये दुईजना मन्त्री बन्ने छन् । यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।
मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ ।
एकिकृत समाजवादीमा सम्भावित सुची यस्तो छ:–
एमालेमा विद्रोह गरेर देउवा सरकार गठनमा निर्णय भूमिका खेलेका माधव नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने सम्भावना छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने छन् ।
जसपाबाट यस्तो छ तयारी :–
यसपाली जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने छैनन् । उनिबाहेकबाट मन्त्री छनौट गर्दा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ ।