सप्रनेको आयोजनामा ‘बलात्कार विरुद्ध रचना वाचन’

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ आश्विन १३, शनिबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

परिवर्तन देवकोटा ।
असोज १३, काठमाडौं । पछिल्लो समय देशमा बढ्दै गएको महिला हिंसा तथा बलत्कार विरुद्ध राजधानीमा साहित्यक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको न्यूरोडस्थित भुगोलपार्कमा सम्पन्न भएको ‘बलत्कारविरुद्ध रचना वाचन’ कार्यक्रममा नयाँ पुस्तादेखि पूराना पुस्तासम्मका स्रष्टाहरुको उल्लेख्य उपस्थिती रहेको थियो भने साहित्यमा क्रियाशील २६ स्रष्टाहरुले रचना वाचन गरेका थिए ।

विगत लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा देशमा बढ्दो महिला हिंसा, बलात्कार लगायतको विरुद्धमा स्रष्टाहरुले आफ्ना कवितामार्फत आक्रोश पोखेका थिए । कविहरुले प्रजातान्त्रिक मुलुक भएर पनि सुरक्षाको महसुस गर्न नसकिएको भन्दै सरकारसँग असन्तुष्टि जनाउँदै सुरक्षाको प्रत्याभुति दिलाउन माग गरेका थिए ।

कार्यक्रममा गजलकार तपेन्द्र घोडासैनीले देशको वेतिथि माथि कवितात्मक प्रहार गर्न उपस्थित सम्पूर्ण स्रष्टाहरुलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा कविहरु डा.विष्णुविभु घिमिरे, डा. ज्ञानु पाण्डे, केशव सिग्देल, बलराम दाहाल, रिसभदेव घिमिरे, राम बहादुर पहाडी, गिता कार्की, सन्ध्या पहाडी, बिना थिङ् तामाङ्, प्रकाश बस्नेत गफाडी, अशिम सागर,सुनिता खनाल, यात्रीप्रकाश पाण्डे, निर्भिकजंग रायमाझी, जीवन खत्री, देवकी अभिलाषी, प्रज्वल अधिकारी, शिरिष, चुडा निर्भिक, नविन चिराग, दिपक थापा र बंगला देशी कवि साहजुर समेत २६ जना कविहरुले कविता वाचन गरका थिए ।

कार्यक्रमको विषयवस्तु र उदेश्यमाथि प्रकाश पार्दै सप्रनेकी अध्यक्ष कवि अमृता स्मृतिले सप्रनेले जहिले यस्ता सामाजिक वेथितिको विरोध गर्दै साहित्यिक सांस्कृतिक कार्यक्रम गर्दै आएको बताइन् । कार्यक्रममा बोल्दै उनले भनिन्, “कहिले उखुबारीमा भेटिन्छ यो देशको वर्तमान र भविष्य कहिले नालीमा भेटिन्छ मेरो देशको परिचय भर्खरै अस्ति सडकमै भेटिइन् शरिरको नक्सा बिग्रेकी कोपिला त्यसैले त्यस्ता कोपिलाहरुका निम्ति स्रष्टाहरु चुप लागेर बस्नु हुन्न भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना भएको हो ।”

त्यस्तै कार्यक्रममा बोल्दै कवि डा. विष्णुविभु घिमिरेले देशमा विकृति बढ्न नदिन स्रष्टाहरुले आवाज उचो बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘जबजब देशमा विकृति बढ्छ तब स्रष्टाहरु आवाज उचो बनाउँछन् ।’ उनले विगतको विगतमा जुत्तामा पोलिस गरेर विरोध भएकोदेखि ६०/ ६३को स्रष्टाहरुले सिर्जना मार्फत गरेको आन्दोलनको स्मरण गरे । उनले भने, ‘यी विभिन्न आन्दोलनको शुरुवात स्थल न्यूरोड भुगोल पार्क भएको र आज ‘बलात्कार विरुद्ध रचना वाचन’ जस्तो उल्लेखनीय कार्यक्रम पनि यहि स्थानमा हुँदा सुरक्षा व्यवस्थाको लागि बलियो दबाव हुन्छ ।’

कवि गणेश भट्ट अणुले सञ्चालन गरेको सो कार्यक्रममा पछिल्लो समय श्रृङ्खलाबद्ध रुपमा भैरहेको बलत्कार, बलत्कारपछि हत्यालगायतको विरुद्धमा रचना वाचन गरिएको थियो । कविहरुले आफ्ना रचनामार्फत निर्मला पन्तको बलात्कार र हत्याको दोषीलाई छिटोभन्दा छिटो सार्वजनिक गरि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस