सरकार लाटो भयो
भन्छन् लाेक म दुष्ट शाेषक कुनै सम्भ्रान्त जातीय रे ।
सामन्ती बलले छलेर निमुखा खाेसेर खाएँ अरे ।।
पुर्खाले पहिला कुनै समयमा हेपे कि केके भयो ।
सारा दोष ममाथि मात्र किन हो सर्कार लाटो भयो ।।
मेरा बा अनिदा सबेर दिनहुँ गोरू दुई नार्दछन्।
सप्रे अन्न जिते धरा नत भने आँखा चिसा पार्दछन्।।
के सामर्थ्य ममा रहेछ सबको बाढी र पैह्रो गयो ।
दोषी देख्छ सधैं म मात्र दुनियाँ सर्कार लाटो भयो ।।
जो दौडिन्छ छिटो उ पुग्दछ छिटै रफ्तार चाहिन्छ नि।
जो दौडिन्न छिटो र बस्दछ सुती त्यो हार्छ पक्कै पनि ।।
घोडा कुद्छ छिटो र कच्छप ढिलो घोडा त दोषी भयो
तिम्रा नीति यही फलाक्छ दिनहूँ सर्कार लाटो भयो ।।
सक्छस् भाग लगा प्रदीप्त रविको आभा र माटो कण
हावामा जलबिन्दुमा पनि दिई कोटा र आरक्षण ।
सामन्ती म परेँ म बाँचि रहने अस्तित्व के नै भयो
यो चित्कार गरेँ तथापि चुप यो सर्कार लाटो भयो ।।
त्यागौँ जात र धर्मका सब कुरा बाचौँ बचाअौँ मिली
तोड्ने हो गरिबी नगर्नु अब यी यो जाती दु:खी सुखी ।
सुन्ला यो यस भावना कति डटें आवाज व्यर्थै भयो
सत्ताको सुरमा झुलेर दिनहूँ सर्कार लाटो भयो ।।
अनिश सापकाेटा सिर्जन
भरतपुर १९, चितवन