गोम बिक्रमका केही समसामयिक मुक्तकहरु

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ बैशाख २३, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौं ।

मुक्तक -१

रडाको ठूलो बेइमानीकै, विवेक राखी गुनिँदैन
आफ्ना मात्र जोगाऊँ अरे, असल-खराब चुनिँदैन
देश- दुनियाँ चलेकैछ, इमानी सब ढलेकैछ
लाज पचाए बेशर्मीले, जायज कुरा सुनिँदैन ।

मुक्तक -२

दैवी प्रकोप, दुर्घटना, देशमा जतिखेरै हुन्छ
आफ्ना कख्याइ पिडितमा, विभेद त्यहीनेरै हुन्छ
जनताको छ चिसो चुलो, राजनीति छ यता ठूलो
राहत बाँड्नु कहाँ छ कहाँ, प्रचारबाजी धेरै हुन्छ ।

मुक्तक -३

कानूनी रुपमा समानता, देख्ने कहिले घडी हुन्छ ?
जहिले पनि हुने खाने, सक्नेकै लडीबडी हुन्छ
नीतिका कुरा लत्याएर, नसक्नेलाई छक्क्याएर
दोषीहरु स्वतन्त्र छन्, निर्दोषलाई ह‍त्कडी हुन्छ ।

मुक्तक -४

कति विद्यालयहरु त, भौतिक रुपमा जीर्ण हुन्छन्
व्यवस्था सबै लथालिङ्ग, सुधार्नेहरु संकीर्ण हुन्छन्
दुनियाँ दिइन्छ आशाहरु, विज्ञापनका भाषाहरु
‘सर्वोत्कृष्ठ नतिजा सहित, शतप्रतिशत उतीर्ण हुन्छन् ।’

मुक्तक -५

भ्रमका कुरा नानाथरी, जसले पनि छर्छन् अचेल
आफ्नो स्वार्थ पुग्छ भने, जेमा नि अघि सर्छन् मान्छे
हुने नहुने दवाव हुन्छ, पूरा नभए तनाव हुन्छ
रोगले भन्दा बढी मान्छे, चिन्ताले नै मर्छन् अचेल ।

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

ताजा अपडेट

खोजी गर्नुहोस