कला विकासमा सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ जेष्ठ २२, बुधबार (५ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कलाका क्षेत्रमा चाहेर पनि लगानी गर्न नसकेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले आज आयोजना गरेको ललितकला प्रदर्शनी २०७६ को समापन कार्यक्रममा आज मन्त्री ज्ञवालीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा बढी लगानी गर्नुपर्ने भएकाले अन्य क्षेत्रमा तत्काल चासो दिन नसकेको बताए ।

‘कलालाई विकास गर्ने विषयमा सरकार सजग छ’, उनले भने, ‘नकारात्मकतालाई सकारात्मक बनाउने काम कलाले गर्नुपर्छ ।’ उनका अनुसार अब सरकारले तीनै वटा प्रतिष्ठानका विषयमा सरकारले उचित निर्णय लिनेछ ।

नाफाका कुलपति केके कर्माचार्यले प्रतिष्ठानको आफ्नै भवन नभएकाले भाडाको ठाउँमा प्रदर्शनी गर्नुपरेको बताए । ‘प्रतिष्ठानका विषयमा सरकारले अलिकति पनि चासो दिएको छैन’, उनले दुखेसो पोखे ।

नाफाका पूर्वकुलपति रागिनी उपाध्यायले नेपाली चित्रकलाले विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने भन्दै सरकारले चित्रकलामार्फत पर्यटक भित्र्याउन सक्नुपर्नेमा जोड दिइन् ।

यही जेठ २ गतेदेखि शुरु भएको प्रदर्शनीमा ५१५ वटा चित्र तथा मूर्ति प्रदर्शनीमा राखिएका थिए जसमा ५० विद्यालयका विद्यार्थी पनि सहभागी थिए ।

प्रदर्शनीमा यथार्थवादी चित्रकला, परम्परागत चित्रकला, अमूर्त चित्र, साङ्केतिक चित्रकला आदि प्रदर्शनीमा राखिएका थिए जसमा सातवटै प्रदेशका कलाकारले सहभागिता जनाएका थिए ।

प्रदर्शनीमा १० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए । प्रदेशस्तरीय चित्रकलालाई छुट्टाछुट्टै राख्नुपर्ने सुझाव दिएका थिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस