धन्यवाद ! छ पैतालालाई ।
जहाँ पुगेर रोकियो तिम्रो नजिक
चम्किरहेकी रत्न तिमीलाई ।
भेट्न अनायसै आइपुगेको पाइलालाई फेरि धन्यवाद !
अनि धन्यवाद १ नजरभित्र र नजरले सूर्यमुखी फुलाउने आँखाको नानीलाई ।
अनि हुर्काइदिने रेटिना, रक्तकेसिका, तन्तु र पर्दाहरुलाई ।
स्वचालित बढेको धड्कन,
पुलकित ज्ञानेन्द्रिय,
तरङगित मस्तिष्क,
र खुशीले फुर्किएको मन ।
जब आँखामा आँखा ठोक्कियो
बदलियो वातावरण,
एकाएक पोखियो रुमानी मौसम,
अन्तस्करणमा उम्लियो रगत,
मुटुको ओल्लो भित्ता हुँदै पल्लो भित्ता ।
वेगले चल्न थाल्यो सुगन्धको बतास ।
जाग्न थाले प्रेमका जिजिविशा अंकुरण हुँदै
भयो परिकल्पना ।
फूलै फूलको गलैंचा ,
परीको भेषमा सजिएकी तिमी
आगमन भयो मस्तिष्कको पर्दाभरी
हिमाली चिसो,सामुद्रिक बगर,
प्यारको मेहेफिल,
गुलाफै गुलाफको बगैँचा,
शास्त्रीय प्रेमिल धुन,
वसन्ती बहार,
उड्दै गरेको वायु यान
कथाको राजकुमार म
राजकुमारी तिमी
अनि सयर गरिरहेको अनन्त यात्रामा ।
हरियाली, पतझड ,मरुभूमिको शून्य नजारा हुँदै।।।
बगिरहेको गङ्गा
उभिरहेको हिमाल,
हाँसिरहेको प्रकृति
र नाचिरहेको मयुर हुँदै स्वर्गको बाटो
झसङ्ग हुन्छु
प्राकृतिक नियम मिचेर
पलमै सयौँ पटक झिम्किने परेली
झिम्किन किन बिर्सियो ?
पलभरमै लाखौँ चित्र कोरिएको मथिङ्गल
अविच्छिन्न बदलिएको म
के थियो आखिर तिम्रो हेराइमा ?
के थियो अदृश्य शक्ति तिमीमा ?
ठाउँको ठाउँ म नतमस्तक हुने
के हो यसको नाम ?
प्रेम ?
आकर्षण
मोहनी ?
या अरु केही ?
रचना : केशव रिमाल इटहरी