वैशाख १७, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी साढे चार घण्टाको हिरासत बसाई पछि रिहा भएका छन् । हिरासतबाट मुक्त भएसँगै चौधरी समर्थकहरुलाई हात हल्लाउदै निस्किएका छन् ।
चौधरी पक्राउ परे लगत्तै उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको थियो । उक्त पत्र आधिकारिक नभएकोले त्यो कार्यान्वयन नगर्न अर्को पत्र पठाइएको सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए । फेक पत्र लेख्ने विष्टलाई विभागिय कारवाही हुने उपरजिष्ट्रार पाण्डेले बताए ।
यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह बिष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । बिष्टले आफूलाई हिंसामा मरेका मान्छेहरुको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।
यसअघि जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । शाखा अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएर पत्र पठाएपछि प्रहरीले चौधरीलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो ।
२०८० जेठ १५ राष्ट्रपतिद्वारा दिइएको आममाफीको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला शाखा अधिकृत विष्टले पत्र लेखेर चौधरीलाई पक्राउ गर्न लगाए । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चौधरीलाई पुरानो फैसला कार्यान्वयनका लागि भन्दै प्रहरीले पक्राउ गरेको बताएका थिए ।
टिकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा भएका थिए । चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो ।