असार ७, काठमाडौं । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्यान्डले उपाधि जितेको हो ।
शृङ्खलाको अन्तिम खेलमा जीतका लागि एक सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ बलमा एक सय ५९ रनमा अलआउट भयो । नेपालका रुपेश सिंहले सर्वाधिक ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए ।
त्यसअघि ग्लास्गोमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । उसका जर्ज मन्सीले सर्वाधिक ७८ रन बनाए ।
नेपालका कुशल भुर्तेलले २ तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेश सिंहले समान १ विकेट लिए ।
यस शृङ्खलामा नेपाल ४ खेलमा २ मा जीतसहित अङ्कतालिकाको दोस्रो र नेदरल्यान्ड्स तेस्रो भएको छ ।