११ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ७, शनिबार (४ घण्टा अघि)
  • ५२ पटक पढिएको
११ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब

असार ७, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले विवरण अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो । गत वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।

चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउनदेखि जेठसम्म)मा नेपालबाट २ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो गत वर्षको तुलनामा ७७.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट कुल एक खर्ब ३९ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।

चालू आर्थिक वर्षको जेठसम्म नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ थियो ।

चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

वैदेशिक व्यापारमा चालू आर्थिक वर्षको ११ महिनामा आयात १३.१५ प्रतिशत र निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

नेपालले प्रमुख रुपमा इन्धन, आइरन र स्टील, सवारी साधन लगायत खाद्य बस्तुको आयात गर्दै आएको भने नेपालबाट सोयाविन तथा सूर्यमुखीको तेल, कार्पेट, अलैचीलगायत न्युन निर्यात गर्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस