लुम्बिनीमा भव्य योग प्रदर्शन सम्पन्न, नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउँदै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ७, शनिबार (६ घण्टा अघि)
  • ४१ पटक पढिएको
लुम्बिनीमा भव्य योग प्रदर्शन सम्पन्न, नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउँदै

असार ७, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा भगवान् बुद्धको जन्मस्थल तथा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा योग प्रदर्शनको आयोजना सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय योग दिवसअन्तर्गत आयोजित यस विशेष कार्यक्रममा नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य राखिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्ती तथा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी प्रमुख अतिथिको रूपमा सहभागी थिए । उनीहरूले भगवान् बुद्धको जन्मभूमिमा यस्ता शान्तिपूर्ण र स्वास्थ्यप्रद कार्यक्रमको आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै भारतीय राजदूतावासलाई धन्यवाद दिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरू तथा ५०० भन्दा बढी योगप्रेमीहरूको सक्रिय सहभागिता रहेको थियो । योग अभ्यासको माध्यमबाट व्यक्तिगत स्वास्थ्य, सामाजिक समरसता र अन्तर्राष्ट्रिय सद्भाव प्रवर्द्धन गर्न सकिने सन्देश कार्यक्रममा दिइएको थियो ।

भारतीय राजदूत श्री नवीन श्रीवास्तवले योगको महत्वमाथि प्रकाश पार्दै भने, “भारतमा उत्पत्ति भएको योग अहिले एक विश्वव्यापी आन्दोलन बनिसकेको छ । संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मान्यता दिएपछि यसको वैश्विक प्रभाव अझ गहिरो भएको छ ।”

उनले लुम्बिनी जस्तो पवित्र स्थलमा यस्तो योग कार्यक्रमको आयोजना हुनु अत्यन्तै सान्दर्भिक रहेको भन्दै लुम्बिनी विकास कोषप्रति आभार व्यक्त गरे ।

उक्त कार्यक्रम भारतीय राजदूतावासद्वारा नेपालका विभिन्न शहरहरूमा आयोजना भइरहेको ११ औं अन्तर्राष्ट्रिय योग दिवसका कार्यक्रमहरूमध्ये एक हो । यसै सिलसिलामा राजदूतावासले आज पोखरा महानगरपालिकासँगको सहकार्यमा पोखरा रंगशालामा पनि योग प्रदर्शन आयोजना गर्ने जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस