मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २, शुक्रबार (६ घण्टा अघि)
  • ५८ पटक पढिएको
मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

जेठ २, काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी तथा सुचना अधिकारी मोहन मणी अधिकारीले बताएका छन् ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

बसमा ३९ जना यात्री रहेकामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबैको अवस्था खतरामुक्त छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस