रवि र छविलाई सुनुवाइको जानकारी छिटो पठाउन उच्चको आदेश

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २, शुक्रबार (९ घण्टा अघि)
  • ६५ पटक पढिएको
रवि र छविलाई सुनुवाइको जानकारी छिटो पठाउन उच्चको आदेश

जेठ २, पोखरा । उच्च अदालत पोखराले हाल थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीलाई उनीहरूले दिएको निवेदनमाथिको सुनुवाइबारे छिटो जानकारी गराउन आदेश दिएको छ ।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले लामिछाने र जोशीलगायतका निवेदक प्रतिवादीहरूले दिएको निवेदनमाथिको सुनुवाइ चलिरहेको जानकारी छिटो पठाउन आदेश दिएको हो ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दाका दुवै पक्षले कास्की जिल्ला अदालतको आदेश खारेजको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । त्यसमाथि हिजोबाट सुनुवाइ प्रारम्भ भएको छ ।

सुनुवाइलाई उच्च अदालतले प्राथमिकता दिँदै हेर्दाहेर्दैमा राखेको छ । उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरुले सुनुवाइ ४ गतेका लागि हेर्दाहेर्दैमा राखिएको जानकारी दिए ।

आजको आदेशमा रवि र छविलाई सुनुवाइको जानकारी चाँडो पठाउन तथा अन्य निवेदक प्रतिवादीहरू आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल, लिला पछाइं र कृष्णबहादुर गुरुका हकमा सुनुवाइलाई निरन्तरता दिने गरी आइतबारका लागि पेशी तोकेको छ ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा लामिछाने विरुद्ध मुद्दा छ । उक्त मुद्दामा जिल्ला न्यायाधीश नितिज राईको इजलासले गएको पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

लामिछानेका तर्फबाट ६५ लाख धरौटी माग्ने आदेश खारेज गरी साधारण तारिखमा छाड्न र जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जाहेरवालाकातर्फबाट आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउन माग गरेको छ ।

आजको इजलासमा लामिछाने वकिलहरू वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ तथा अधिवक्ता सुरेन्द्र थापाले थुनामा भएका व्यक्तिका पक्षलाई मुद्दाबारे जानकारी नै नदिई सुनुवाइ गरेको भन्दै इजलासमाथि नै प्रश्न उठाएका बताइएको छ । जसकारण सुनुवाइ स्थगित गर्न उनीहरूले माग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस