वामपन्थी नेता तुलाधरको निधन : ‘परफेक्ट जेन्टलम्यान’को निधनमा कुन नेताले के भने ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १८, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक १८,काठमाडौँ । पूर्वमन्त्री, मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ ।

७८ वर्षको उमेरमा तुलाधरको आइतबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित तुलाधरलाई केही महिनाअघि मात्रै अस्पताल भर्ना गरिएको थियो ।

उनका दुई छोरा र दुई छोरी छन । तुलाधर २०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बनेका थिए । २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि उनी मावनअधिकार अभियन्ताका रुपमा चिनिएका थिए ।

पञ्चायतकालदेखि राजनीति थालेका तुलाधार २०६२/६३ को जनआन्दोलनमा नेताहरुसँगै आन्दोलनमा सहभागी भएका थिए । तुलाधरले तत्कालीन माओबादीलार्इ शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

तुलाधरको निधनमा कुन नेताले के भने ?

तुलाधरको निधन भएलगतै नेकपाका अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेल नर्भिक अस्पताल पुगेका थिए ।

नेकपा अध्यक्ष प्रचण्डले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताए । तुलाधरले मानव अधिकार र साँस्कृतिक आन्दोलन संवर्द्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

तुलाधरकै भूमिकाका कारण शान्ति प्रक्रियाको वातावरण बनेको पनि प्रचण्डले बताए । ‘उहाँ शान्ति प्रक्रियाको एउटा यस्तो फेसिलिटेटर हुनुहुन्थ्यो जसले नयाँ वातावरण बनाउन ऐतिहासिक भूमिका खेल्नुभयो’ उनले भने ।

पूर्वसभामुख दमननाथ ढुंगानाले तुलाधर समन्वयवादी मान्छे भएको बताए । ‘उहाँ समन्वयवादी मान्छे हो, मत मतान्तर हुन्छ, तर मिलेर देश चलाउनुपर्छ भन्नुहुन्थ्यो’ ढुंगानाले भने ‘अंग्रेजीमा भन्छन् नि परफेक्ट जेन्टलम्यान, उहाँ एकदम भलादमी मान्छे हो ।’

तुलाधर आफ्नो भाषा, संस्कृतिको सम्मान होस् भन्ने चाहना राख्ने व्यक्ति भएको पनि उनले बताए । ‘काठमाडौंका लागि त उहाँ धरोहर नै हो’ ढुंगानाले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस