पुस २९,काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गहन समीक्षा गरेर पार्टीलाई अघि बढाउने बताएका छन ।
पार्टी फुटेपछि शनिबार पार्टी कार्यालय ललितपुरको बखुण्डोलमा पत्रकार सम्मेलन गरी अध्यक्ष मिश्रले केही नेताले पार्टी छोडेको घटनाले पार्टीभित्र गम्भीर समीक्षा गरी अघि बढ्ने शक्ति मिलेको बताएका हुन ।
केही नेताले पार्टी छाडेर जाँदैमा विचलित भइहाल्नुपर्ने अवस्था नरहेको उनको भनाई छ । संयोजक मिश्रले पार्टी विभाजन आफूहरुले कल्पनासम्म नगरेको घटना भएकाले यसले उत्साहमा केही चिसोपन ल्याएपनि सम्हालिँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
पार्टी विभाजन गर्ने निर्णय हतारमा गरिएको भन्दै संयोजक मिश्रले पार्टीभित्र केही अन्तरविरोध भए पनि समाधानको बाटो खोज्नुको सट्टा पार्टी फुटाएर बाटो बिराएको टिप्पणी पनि गरे।
संयोजक मिश्रले छुट्टिएर गएका उज्जल थापासँग पछि पुनर्मिलन हुन पनि सक्ने बताए । गन्तब्य एकै भएकाले राम्रो काम गर्दै जाँदा पछि भेट हुनसक्ने मिश्रले विश्वास व्यक्त गरे । आफूले फेसबुकमा पनि धेरै कुरा लेखेको बताउँदै मिश्रले भने, ‘छिट्टै बसेर चिया खाउँला । मिलेमा लामो समयदेखि जाने भनेर नगएको हाम्रै साथीको ओम आध्या रिसोर्ट जाउँला । के थाहा पुनर्मिलन भई पो हाल्छ कि ! ’
पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सुसंस्कृत वैकल्पिक पार्टी निर्माणको चरणमै रहेका बेला पार्टी विभाजन हुँदा आफूहरुस्तब्ध भएको बताए । झण्डै डेढ वर्ष अघि एक भएर बनेको विवेकशील साझा पार्टीबाट एक संयोजक उज्वल थापाले १६ केन्द्रीय सदस्यसहित अर्को दल गठनका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका हुन ।