वैशाख ३१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रिमनसुन सुरु भएकाले सरकारलाई उच्च सतर्कताका साथ पूर्वतयारीमा ध्यान दिन भनेका हुन् ।
उनले प्रिमनसुन सुरु भएकोले राजमार्गमा त्रास बढ्को बताए । उनले वैशाख १ देखि २८ गतेसम्मको तथ्यांक हेर्दा ७३२ वटा विपद्का घटनाहरू भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको बताए ।
उनले सरकारका निकायबीच आपसमा समन्वय नहुँदा विपद् उद्धार र व्यवस्थापनमा ढिलाइ भएको बताए ।
उनले चीनसँगको प्रमुख व्यापारिक नाका चीनसँग जोड्ने खोप्लाङमा सडक भासिएका कारण त्यहाँको सडक पूर्णरूपमा बन्द भएको बताए । तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायत ३० वटा कन्टेनर र ५०० भन्दा बढी विद्युतीय सामग्री तातोपानी क्षेत्रमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।