वैशाख ३०, काठमाडौं । सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् ।
परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै संख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् ।
जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा परेको असरबारे उजागर गर्न, पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन भन्दै लामो प्रयासपछि गर्न लागिएको संवादमा १२ देशबाट संसद्का उपाध्यक्षदेखि मन्त्रीहरू सहभागी हुने मन्त्रालयले जनाएको छ ।
पहिलो संस्करणको सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । जेठ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिने कार्यक्रम तालिका छ ।
भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ । उद्घाट्नपछि १२ छुट्टाछुट्टै विषयमा कार्यक्रम सञ्चालन हुनेछन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले संवादको तयारी अन्तिम चरणमा पुगेको र मानव जगतका विभिन्न समस्या र मुद्दाबारे संवाद गर्ने तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्नु उद्देश्य रहेको े बताए । उनले संवादको उदेश्य हिमाली आवाजलाई बुलन्द गर्नु रहेको उल्लेख गरे । उनले हिमाल र पर्वतहरु समुन्द्र टापुहरुसंग अन्तरसम्बन्धित छन् भन्ने सन्देश दिनु पनि संवादको अर्को उदेश्य रहेको बताए ।
पत्रकार सम्मेलनमा परारष्ट्रमन्त्री डा राणाले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको उनले बताइन् ।