असार २४, काठमाडौं । संघीय निजामति सेवा विधेयकको कुलिङ पिरियडमा भएको छलछाम छानबिन गर्न बनेको संसदीय समितिको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे संघीय संसद भवन बानेश्रस्थित शंकर हलमा बस्नेछ ।
पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ । अवकासप्राप्त कर्मचारीका लागि दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राज्य व्यवस्था तथा सुशासन समितिबाट राखिए पनि त्यसलाई निष्प्रभावी बनाउनेगरी विधेयक पारित गरिएको थियो । यसैबारे छानबिन गर्न हिजो सात सदसीय छानबिन समिति गठन गरिएको थियो ।
कांग्रेस सहमहामन्त्री जीवन परियार संयोजक रहेको समितिमा कांग्रेसबाट सुशीला थिङ, एमालेबाट इश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली तथा राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन् ।
पहिलो बैठक भएकाले विषयबस्तु बुझ्ने र छानबिनको कार्ययोजना बनाउनेबारे छलफल हुने समिति सदस्य घर्तीले बताए । समितिलाई कानुनी तादम्यता नदेखिने गतिविधिमा संलग्नताको यकिन गरी कारबाही सिफरिस गर्न तथा यस्ता कमिकमजोरी हुन नदिन अपनाउनुपर्ने उपाय सुझाउन कार्यदेश दिइएको छ । २१ दिन अर्थात, आगामी साउन १२ गतेभित्र समितिले प्रतिवेदन बुझाईसक्नुपर्नेछ ।