असार २४, काठमाडौं । डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले सोमबार प्रतियोगिताको बारेमा जानकारी दिए । प्रतियोगिता आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
आयोजकका अनुसार प्रतियोगितामा ७ टिम सहभागी हुनेछन् र कुल २२ खेल सञ्चालन हुनेछ । लिग सिंगल राउन्ड रोबिन ढाँचामा खेलाइनेछ । शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन टिम खरिद प्रक्रिया र खेलाडीको अक्सनसमेत गरिनेछ । प्रतियोगिताको विजेताले नगद रु २९ लाख र उपविजेताले रु ११ लाख पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले अभिनेता निखिल उप्रेतीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।