असार २४, काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीमा परी रसुवागढी नाकाबाट १५ जना बेपत्ता भएका छन् । ३ जना नेपाल प्रहरी, ६ जना नेपाली र ४ जना चिनियाँ मजदुर तथा राष्ट्रियता नखुलेका दुई जना सवारी चालक हराइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
उनका अनुसार नाकामा फसेका ९ जनाको उद्धार गरिएको छ । बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने सुख्खा बन्दरगाहमा जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
समग्रमा क्षति ठूलो भएको र घटनास्थलमा पुगेर क्षतिको थप विवरण संकलनको काम भइरहेको पौडेलले बताए । बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको रसुवागढी जलविद्युत केन्द्रको प्रशासन प्रमुख टिकनाथ पौडेलले जानकारी दिए ।
आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।
यस्तै त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर रसुवातर्फ अत्यधिक वर्षापछि बाढी आएको भन्दै त्रिशूली नदी किनारका दुवैतर्फ बाढीको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन भनेको हो ।
यता त्रिशूली नदीमा आएको बाढीले नुवाकोटमा क्षति गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार क्षतिको विवरण संकलनको काम भइरहेको छ । बिदुर नगरपालिका–९ इन्द्रेणिघाटस्थित नदीमा दुईजना फसेका छन् ।
घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि उनीहरु त्यही फसेका हुन् । हिजो रातिदेखि नै उनीहरु रुखमा चढेको बुझिएको छ । उनीहरु दुवै जना एकै परिवारका हुन् । उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पुगेको छ । बाढीले पु¥याएको क्षतिबारे थप विवरण संकलन भइरहेको छ ।
आज दिनभर नै त्रिशुली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले पनि सार्वजनिक सूचना निकालेर त्रिशूली नदीको उपल्लो भू–भाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भएको भन्दै त्रिशूली नदी किनारका दुवैतर्फ बाढीको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।