वैशाख ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । सारिका कार्कीले आज बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।
गृहमन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा मिश्रको तर्फबाट दायर रिटको वैशाख ३१ गते भोलि पेशी तारेखमा अदालतमा हाजिर हुन भनिएको छ । रिट निवेदक कार्की राप्रपा नेता मिश्रकी पत्नी हुन् ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा अराजक गतिविधि गरेको भन्दै पक्राउ परेका मिश्र अनुसन्धानका लागि थुनामा रहेका छन् । मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।
यस्तै काठमाडौं जिल्ला अदालतले मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसैबिच मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि आज अदालत पेश गरेको छ । आठौंपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।
सातौं पटक म्याद थपिएका मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः आठौंपटक म्याद थपका लागि आज अदालत पेश गरेको थियो ।