वैशाख ३०, काठमाडौं । हेटौंडा र काठमाडौंलाई जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द हुने भएको छ । सडक स्तरोन्नति कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिन लागिएको हो ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचना अनुसार, सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुरमार्फत ठेक्का लागेको उक्त सडकको मर्मत तथा स्तरोन्नतिको काम जेठ २ गतेदेखि २० गतेसम्म चल्नेछ । इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने उद्देश्यले यो सडक पूर्ण रूपमा बन्द गरिएको हो ।
उक्त सडक खण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । प्रशासन कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न आग्रह गरेको छ ।