वैशाख ३०, काठमाडौं । काठमाडौंको कालीमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मंगलबार राईसहित २१ जनाविरुद्ध ३७ लाख ३५ हजार रुपैयाँ बिगोसहित ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरी मुद्दा दायर भएको हो ।
राई कांग्रेसकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो । वैशाख १३ गते काठमाडौंको कपनबाट पक्राउ परेकी राई उनी कार्यसमितिमा रहेका वेला स्वर्णलक्ष्मी सहकारीबाट दुई करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ ठगी भएको खुलेको छ ।
यद्यपि, उक्त हिनामिना संगठिन कसुरमा भएकाले राईविरुद्ध ३७ लाख २५ हजारको बिगोदाबीसहित अन्य २० प्रतिवादीविरुद्ध सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।
बयानको क्रममा उनले सहकारीको माइन्यूटमा भएको हस्ताक्षर आफ्नो भएको उनले स्वीकार गरेकी छिन् ।
उक्त सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने, सहकारीका तत्कालीन अध्यक्ष जीबी राईलगायतमाथि पनि मुद्दा चलाइएको छ । राई हाल फरार छन् भने लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । स्वर्णलक्ष्मी सहकारीका हकमा भने उनलाई धरौटीमा छाडिएको थियो ।
कार्यालयले प्रतिवादी बनाइएकामा देबेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दिपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, थशविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमला लामा, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ र राजु बराल रहेका छन् ।