माघ १५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा शान्ति खलबलाउने प्रयास भइरहेको भन्दै देशलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिएका छन।
शसस्त्र प्रहरी बलको १८ औ स्थापना दिवसको अवसरमा मंगलबार हलचोकस्थित शसस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने, जनतालाई आतंकित पार्ने र शान्ति सुव्यवस्था छैन भन्ने अवस्था श्रृजना गर्ने काम भैरहेको बताएका हुन । उनले राष्ट्रिय अखण्डतालाई चुनौती दिने गरी देशद्रोही कामहरुका प्रयास भैरहेको उल्लेख गर्दै उहाँले मुलुकलाई हिंसामा लैजाने र निरंकुशतातर्फ धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिए ।
शान्ति प्रक्रियाका अवशेषहरुलाई बल्झाउने प्रयास भैरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस किसिमका काम हुन नदिने बताए । पछिल्लो समय सरकारमै रहेका मन्त्रीहरुले सार्वजनिक कार्यक्रमहरुमा विभिन्न दल तथा गैह्र सरकारी संस्थाहरुले द्धन्द्धकालीन मुद्दाहरु व्यूँताएर सरकारप्रति आक्रमण गरेको अभिव्यक्ति दिँदै आएका छन् ।