बुढीगण्डकी परियोजनाका विषयमा उर्जामन्त्रीद्धारा गोरखा र धादिङका सांसदसँग छलफल

Post Thumbnail

कार्तिक ४,काठमाडौँ । उर्जा मन्त्री वर्षमान पुनले गोरखा र धादिङबाट प्रतिनिधित्व गर्ने सांसद र पुर्व सांसदहरुसँग आइतवार उर्जा मन्त्रालयमा परामर्श गरेका छन । बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणबारे जनप्रतिनिधिसँग परामर्श गरेका हुन् ।

मन्त्री पुनले बुढीगण्डकी जलविद्युत परियोजनामा मुआब्जा निर्धारण गरेर अघि बढ्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिए। बुढीगण्डकी जलविद्युत आयोजना सरकारको प्राथमिकताको रहेको भन्दै आयोजना अघि बढ्नेमा शंका नगर्न भन्दै मन्त्री पुनले आयोजना तिव्र गतिमा अघि बढाउने विषयमा सहयोग गर्न आग्रह गरेका थिए ।

‘प्रधानमन्त्रीज्यु, सरकार र मन्त्रालय बुढीगण्डकीलाई अघि बढाउन प्रतिवद्ध छ, यो सरकारको उच्च प्राथमिकतामा रहेको परियोजना हो। यसलाई अघि बढाउन हामी विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौं, यसमा तपाईहरुले शंका गर्न आवश्यक छैन’ मन्त्री पुनले भने।

सरकारले ४४ हजारभन्दा बढी रोपनीको मुआब्जा वितरण गरिसकेको छ भने १८ सय रोपनी जग्गाको मुल्य निर्धारण बाँकी रहेको छ। जग्गाको मुल्य निर्धारणको लागी मन्त्रालयले सबै सरोकारवालाहरुसँग छलफल अघि बढाएको हो। गोरखाको आरुघाट, आरखेत र धादिङको आरुघाट र खहरेमा मुआब्जा निर्धारण बाँकी छ।

छलफलमा पुर्वमन्त्री गंगालाल तुलाधरले आयोजना चाँडोभन्दा चाँडो अघि बढाइदिन आग्रह गरे। उनले बुढीगण्डकी परियोजना मुलुककै लागी गेमचेन्जर आयोजना भएको भन्दै सरकारले परियोजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका नेता समेत रहेका पुर्व सांसद चीनकाजी श्रेष्ठले आयोजनालाई अघि बढाउन सहयोग गर्न तयार रहेको भन्दै सरकारको प्राथमिकतामा पारिदिन उनले आग्रह गरे। त्यस्तै नेकपाका नेता समेत रहेका सांसद हरि अधिकारीले मुआब्जा निर्धारण गर्न बाकी जग्गाको टुंगो लगाईदिन मन्त्री पुनसंग आग्रह गरे।

केहीदिन अघिमात्रै चीनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा रहदा तमोर जलविद्युत आयोजना अघि बढाउने सम्झौता भएपछि बुढीगण्डकी आयोजना छाँयामा पर्ने हो की भन्ने चिन्ता धादिङ र गोरखाका सांसदहरुको छ । तमोर पनि जलाशययुक्त आयोजना र बुढीगण्डकी भन्दा सहज आयोजना भएकोले सरकारको ध्यान बुढीगण्डकीतर्फ नजाने हो की भन्ने चिन्ता सरोकारवालाहरुको पनि रहेको बुझिन्छ ।

छलफलमा धादिङका पुर्वमन्त्री गंगालाल तुलाधर, कांग्रेस नेता चीनकाजी श्रेष्ठ, सांसद हरि अधिकारी, प्रदेश सांसद रामकुमार अधिकारी, प्रतिनिधीसभाका सदस्य भुमि त्रिपाठी र पुर्व सांसद गुरु बुर्लाकोटी सहभागी थिए।

ताजा अपडेट

खोजी गर्नुहोस