कात्तिक ६,काठमाडौँ । नेकपा एमालेको वडास्तरका अधिवेशन सुरु भएको छ । केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन हुँदैछ । बाढीपहिरो प्रभावित जिल्लामा भने आज एमालेको वडा अधिवेशन हुनेछैन । वडा अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले बाढी पहिरो डुबान पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पीडितलाई राहत र विस्थापितको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
साथै उनले पार्टी विभाजनबाट विरोधी गतिविधि गर्नेहरु बहिर्गमन भएको र यसले पार्टीमा सकारात्मक प्रभाव परेको टिप्पणी गरे । ओलीले अहिलेको सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाए। एमालेको १०औँ राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।