मंसिर १, काठमाण्डौ । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षा व्यवस्थापन प्रभावकारी पारेको उच्चस्तरीय सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत भएको छ ।
गृह मन्त्रालयले तयार पारेको निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिँदैछ । चुनावलाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायबीच समन्वय हुने गरी केन्द्र प्रदेश तथा जिल्ला तहमा एकीकृत सुरक्षा कक्षसमेत तयार भइसकेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार चुनावमा भरपर्दो सुरक्षा व्यवस्थापन हुने भएकाले मतदाताले ढुक्कसँग मत खसाल्न सक्नेछन् ।