जेठ २, काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजबाट सुरू गर्दैछ । ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ नारासहित बैटडीको पाटनबाट बिहान ११ बजे उद्घाटन कार्यक्रम रहेको छ ।
अभियानका लागि बिहीबार नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू बैटडी पुगेका छन् । यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ बाट मध्यपहाडी लोकमार्गको अभियान थालेको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले अभियान जेठ महिनाभरि चल्ने जानकारी गराए । शनिबार अछामको साफे बगरमा जनजागरण अभियानको कार्यक्रम आयोजना गर्ने बताए ।
कार्यक्रमको स्वरूपअनुसार मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीका प्रत्येक प्रदेश समितिले १/१ स्थानमा सभा आयोजना गर्नेछन् । त्यस्तै, जिल्ला समन्वय समितिहरूले १/१ स्थानमा जनसंवाद कार्यक्रम सञ्चालन गर्नेछन् ।
कोशी प्रदेशका जिल्लाहरूमा हाल भइरहेको जनसभाहरूलाई यसै अभियानको हिस्सा बनाइनेछ भने बाँकी जिल्लामा उपयुक्त समयमा जनसभा गर्ने माओवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अभियानमार्फत् माओवादीले पुष्पलाल लोकमार्गसँग जोडिएका जनसमुदायसँग प्रत्यक्ष संवाद, राजनीतिक सन्देश प्रसार, तथा स्थानीय समस्या पहिचान गर्ने उदेश्य बोकेको छ ।